धनगढीः गौरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशमा लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ।
नेपाल सरकारले आज (भदौ १५ गते) गौरा पर्वको मुख्य दिन अठ्वाली–दुर्वाष्टमीको अवसरमा सार्वजनिक बिदा दिएको छ। साथै प्रदेश सरकारले भोलि (भदौ १६ गते) पनि गौरा पर्वकै अवसरमा थप बिदा दिएको छ।
यससँगै सुदूरपश्चिममा आज र भोलि गरी दुई दिन सार्वजनिक बिदा कायम भएको हो। प्रदेशको विभिन्न ठाउँमा बिहीबारदेखि नै गौरा पर्व विभिन्न धार्मिक र सांस्कृतिक कार्यक्रमसहित मनाइँदै आएको छ।
- गौरा पर्व
गौरा पर्व सुदूरपश्चिम प्रदेशको प्रमुख सांस्कृतिक तथा धार्मिक पर्व मानिन्छ। विशेषगरी शिव र पार्वतीको आराधना गर्ने यो पर्व महिलाले बढी धुमधामका साथ मनाउने गर्छन्। बिरुडा भिजाउने, देउडा खेल्ने, सामूहिक पुजा गर्ने परम्परा यस पर्वसँग जोडिएका प्रमुख धार्मिक अनुष्ठान हुन्। यस अवसरमा आ–आफ्ना गाउँ, टोल र मन्दिरमा सामूहिक जमघट भई देउडा खेल्दा सामाजिक एकता र पारिवारिक सौहार्द बढ्ने विश्वास गरिन्छ।